Friday, September 11, 2020

नेकपाको ७९ दिने बैठक : समुद्र मन्थनमा के निस्कियो ?

 २६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ । बैठक सकिएसँगै पार्टीभित्र र बाहिर यो लामो बैठकमा उपलब्धीबारे समीक्षा र विश्लेषण हुन थालेको छ ।

असार १० गते सुरु भएको बैठक आजका मितिसम्म आउँदा ७९ दिन बितेको छ । पटक-पटक स्थगित हुँदै र झण्डै-झण्डै फुटको सँघारमा पुगे पनि अन्ततः बैठक एकतावद्धरुपमा सकिएको छ । तथापि, माधव नेपाल पक्षले आफ्नो ‘रिजर्भेसन’ अन्तिमसम्म कायमै राखेको छ ।

शुक्रबार बैठकको समापनका दिन प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा ‘प्रतिक्रियावादी’हरुलाई गाली गरे । देशी-विदेशी प्रतिक्रियावादी तत्वहरुले पार्टी तोडफोड गराउन खोजेको तर उनीहरु असफल भएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘हाम्रो बैठकको यो सफलताले उनीहरुलाई जवाफ दिएको छ ।’

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडियालाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई यो बैठकले समाधान दिएको बताएका छन् ।

त्यसैगरी अर्का अध्यक्ष प्रचण्डले यो बैठकले पार्टीलाई एकतावद्ध बनाउँदै रुपान्तरण गराउने आधार प्रदान गरेको बताएका छन् । अब महाधिवेशनसम्म जाने र त्यसलाई सफल बनाउने आधार यो बैठकले दिएको प्रचण्डको संश्लेषण छ । विगतका उतार-चढावहरुबाट शिक्षा प्राप्त भएको प्रचण्डले बताएका थिए ।

एक स्थायी कमिटी सदस्यले दिएको जानकारीअनुसार बाहिरी प्रतिक्रयावादी शक्तिले नेकपालाई फुटाउन खोजेको र त्यो शक्तिमाथि यो बैठकबाट विजय प्राप्त भएको दुबै अध्यक्षको साझा निश्कर्ष छ ।

शुक्रबार बैठकको समापनका दिन कार्यदलको प्रतिवेदनमा आधारित रहेर तयार पारिएको अध्यक्षद्वयको प्रस्ताव बुधबार नै स्थायी कमिटी सदस्यहरुलाई बाँडिएको थियो । त्यो प्रस्ताव बैठकअघि नै मिडियामा प्रकाशित भएको थियो ।

अध्यक्षद्वको प्रस्तावमा कतिपय स्थायी कमिटी सदस्यहरुले लिखितरुपमै आफ्ना सुझाव प्रस्तुत गरे । खासगरी माधव नेपालनिकट नेताहरुले भने शुक्रबारको बैठकमा मौखिकरुपमै आफ्ना धारणा राखे । यसरी धारणा राख्नेमा पूर्वमाओवादी खेमाका केही असन्तुष्ट नेता पनि सहभागी थिए ।

शुक्रबारको बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, रघुजी पन्त, भीम आचार्य, देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, लीलामणि पोख्रेलसमेत १३ जनाले बोलेका थिए ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली सुरुमै बोलेर ४५ मिनेटपछि बैठकबाट बाहिरिएका थिए भने अर्का अध्यक्ष प्रचण्डले बैठकको समापनमा बोलेका थिए ।

सहमतिमा महाधिवेशन हुन सक्दैन : झलनाथ

बैठकमा आफ्ना धारणा राख्दै बरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वयको प्रस्तावमा सहमतिमा महाधिवेशन गर्ने भनिए पनि  सहमतिमै हुन्छ भन्न नसकिने बताए ।

‘महाधिवेशन भनेको सहमतिको महाधिवेशन होइन । महाधिवेशनलाई एकता र प्रगतिको महाधिवशेन भनेर जानुपर्छ’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘महाधिवेशनमा सहमति हुन पनि सक्छ, नहुन पनि सक्छ । त्यसकारणले सहमतिको महाधिवेशन भन्नु उपयुक्त हुँदैन । सकेसम्म सहमति गर्ने हो, नभए विधान अनुसार गर्ने हो ।’

कोरोनाका कारण चैतमै महाधिवेशन हुन्छ कि भन्नेमा आफूलाई अलिकति शंका लागेको खनालले बैठकमा बताए ।

अध्यक्षद्वयको प्रस्तावले सकारात्मक थालनी गरेको भएता पनि समस्याको गहिराइमा पुगेर समाधान दिन नसकेको खनालको निश्कर्ष छ । उनले बैठकमा भने, ‘हामी कटुतालाई शिथिल गर्ने दिशातिरचाहिँ आयौं । तर, यो प्रस्तावले पार्टीको भित्री संघर्षलाई प्रतिविम्वित र परिभाषित गर्न सकेन । दुई अध्यक्षको लडाइँ र दुई अध्यक्षको मिलापजसरी मात्रै यो प्रसारित भयो ।’