सूचना

जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय

काठमाडौं । कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे ।स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । तथापि यसको चर्चा खासै छैन ।

हुनत त्यतिधेरै क्यामरा संग्रह गर्ने जिम म्याथ्यू नामका व्यक्तिको हाल मृत्यु भैसकेको छ । तर उनको त्यो क्यामराको अद्वितीय संग्रहले छिटै नै क्यामरा संग्राहलको रुपमा पाउने वाला छ । जिमले संग्रह गरेका झण्डै ३ हजार वटा क्यामरमध्ये कतिपय १ सय वर्षभन्दा पुराना छन् ।

फिफेको सेन्ट मोनास गाउँमा आफ्नो सेवा निवृत्त जीवन बिताएका म्याथ्यू आफ्नो जागिरे जीवनको क्रममा विश्वका धेरै देश घुमेका थिए । आफ्ना मूल्यवान क्यामराहरु संग्रह गर्नका लागि उनले गाउँमा रहेको पूर्व मुक्ति सेनाको हल नै भाडामा लिए । उक्त हलभित्र राखिएका तख्ताहरुमा एकपछि अर्को गर्दै क्यामरा, यसका विभिन्न पाटपुर्जा तथा क्यामरा सम्बन्धी विवरणहरु आकर्षक रुपमा सजाएर राखिएको छ ।

त्यहाँ रहेका क्यामराहरुमा कतिपय स्टेरोस्कोपिक र थ्री डी क्यामरा छन् भने कतिपय तत्कालीन अवस्थामा पश्चिम युरोपमा दुर्लभ रहेका पूर्वी युरोपेली मोडल समेत रहेका छन् । यी सबै क्यामराहरुको केन्द्रमा कोडाक ब्राउनी क्यामराहरु रहेका छन् । उक्त ब्राण्डका सबैजसो मोडेलहरु त्यहाँ रहेका छन् ।

ब्राउनी नै सर्वसाधारणले किन्न सक्ने मूल्यको पहिलो क्यामरा थियो । सन् १९०० मा यो क्यामरा बिक्री हुँदा यसको मूल्य १ डलर मात्र थियो ।