aanapura post bata
मसिना लेक रोइरह्यो
मिति : २०७० फागुन ६, मंगलबार [406 पटक पढिएको]
प्रेमनारायण आचार्य |
मसिनालेक (अर्घाखाँची) : जहाजका पार्टपुर्जासँगै शवका टुक्रा यत्रतत्र छरिएका थिए। सुरक्षाकर्मी होसियारीका साथ शवका अवशेष संकलन गर्दै थिए। कुनै शव डढेर अँगारजस्तै थिए भने कुनै अंगभंग भएर हेर्न नसकिने अवस्थाका थिए। सुरक्षाकर्मी र उद्धारकर्तासँगै ठूलो संख्यामा वरपरका बासिन्दा भेला भएका थिए तर कोही बोल्न सकेका थिएनन्। वातावरण शोकाकुल र स्तब्ध देखिन्थ्यो।
दुर्घटनास्थलमा जम्मा भएका सर्वसाधारण
http://annapurnapost.com/get_img?ImageId=2852
अंगभंग भएका शवका टुक्रा हेर्दा मान्छेले मन थाम्न सकिरहेका थिएनन्। वरपरको दृश्य हेर्दा लाग्थ्यो- सिंगो मसिनालेक रोइरहेको छ।
उद्धारमा खटिएका चन्दननाथ गणका गणपति रामकाजी रानामगरले एक हजार मिटर परसम्म शव र जहाजका टुक्रा छरिएको अवस्थामा भेटिएको जानकारी दिए। धेरै यात्रुका शव जलेर नचिनिने अवस्थामा थिए। दुर्घटनास्थल नजिकै रहेको नेपाल टेलिकमको टावरमा कार्यरत कर्मचारी केशवराज खनालले विमान खसेको आइतबार अपराह्न नै थाहा पाएका रहेछन्।
'मोबाइल फोन अफ थियो, चार्ज गर्न लाइट थिएन, भारी हिमपात र पानीले गर्दा बाहिर निस्कन पनि सकिएन', खनालले भने, 'के गर्ने भित्रभित्रै गुम्सिएर बस्न बाध्य भएँ।' उनले यति ठूलो घटना थाहा पाएर पनि जानकारी दिन नसकेकोमा पछुतो लागेको पनि बताए। 'टुलुटुलु हेरेर बस्नुबाहेक अर्को उपाय भएन', उनले भने।
नेपाल वायुसेवा निगमको विमान आइतबार मसिनालेकमा खसेको थाहा पाएपछि नेपाली सेनाले हेलिकोप्टरबाट हेरेर दुर्घटनास्थल पत्ता लगाएको थियो। त्यसपछि चन्दननाथ गणका गणपति रानामगरको नेतृत्वमा गएको सैनिक टोली, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीको नेतृत्वमा गएको प्रहरी टोली र कपिलवस्तुको चन्द्रौटाबाट गएको सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो।
'धेरैतिर छरिएकाले शव संकलन गर्न केही समय लाग्यो', गणपति रानामगरले भने।
उद्धारका क्रममा सबै शव संकलन गरी हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो। उद्धारका लागि सेना र सिम्रिक एअरको हेलिकोप्टर प्रयोग गरिएको थियो। उद्धारमा खटिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक मिंगमार लामाले घटनाको प्रकृति हेर्दा विमान ठोक्किएर नभई चट्याङ परेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए।
दुर्घटनास्थल पहाडको टुप्पामा रहेको र आइतबार बाक्लो हिमपात भएकाले उद्धारमा कठिनाइ भएको थियो।
घटनास्थल सदरमुकाम सन्धिखर्कबाट करिब २० किलोमिटर टाढा पर्छ। निगमको विमान १८ जनासहित हराइरहेको र अर्घाखाँचीमा खसेको हुनसक्ने खबर आएपछि अर्घाखाँचीका बासिन्दा रातभर निदाउन पनि सकेनन्। गाउँगाउँमा जताततै यसबारे सोधीखोजी भइरहेको थियो।